अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाले एशिया, युरोप, उत्तरी अफ्रिका र पश्चिमी एशियामा भइरहेको अत्याधिक गर्मीलाई लिएर विश्वलाई चेतावनी दिएको छ । हाल विश्वका यी सबै स्थानहरुमा तापक्रम ४० डिग्रीमाथि पुगेको छ भने कैयाैं स्थानमा गर्मीले पुराना सबै रेकर्ड तोडेको छ ।
नासाले २०२२ जुलाई १३ को एक तस्बिर सार्वजनिक गर्दै पूर्वी गोलाद्र्धमा यस किसिमको तापक्रम भएको बताएको छ । यस तस्बिरमा निलो पृथ्वी अत्याधिक गर्मीका कारण रातो देखिइरहेको छ । सो तस्बिरका अनुसार उत्तरी भारतले पनि प्रचण्ड गर्मी भोगिरहेको छ । नासाको नक्शामा भारतकाे उत्तर प्रदेश, हरियाणा, राजस्थान र मध्य प्रदेशका केहि हिस्सा पनि अधिक गर्मीको चपेटामा परेका छन् ।
नासाको गोड्डार्ड स्पेस फ्लाइट सेन्टरका स्टिभन पावसनका अनुसार विभिन्न स्थानमा चिसो हुँदा देखिने नीलो रंग अहिले रातो रंगमा परिवर्तन भएको स्पष्ट रुपले देखिएको छ । यसले उच्च गर्मीतर्फ संकेत गर्दछ । पृृथ्वीको ठुलो क्षेत्र चर्को गर्मीको चपेटामा छ जसले गर्दा मौसममा यो खतरनाक परिवर्तन मानवबाट हुने ग्रीन हाउस ग्यासको उत्सर्जनका कारण भएको र यसको प्रभाव हाम्रो जीवनयापनमा प्रष्ट देखिन्छ ।
बेलायतमा उच्च तापक्रमकाे चेतावनी
बेलायतमा पनि गर्मी चर्किदा मौसम विभागले थप गर्मी बढ्ने चेतावनी दिएको छ । बेलायतमा हालसम्मको गर्मीको सबै रेकर्ड तोडिने पनि संकेत गरिएको छ ।
मंगलबार बेलायतमा सर्वाधिक गर्मी हुने आंकलन गरिएको छ । आज तापक्रम ४२ डिग्री सेल्सियससम्म हुन सक्छ । सोमबार सुफोल्कमा ३८.१ डिग्री सेल्सियससम्म तापक्रम पुगेको थियो । यसअघि २०१९मा बेलायतमा ३८.७ डिग्री सेल्सियससम्मको गर्मीको रेकर्ड थियो ।
यसैगरी, रक्षा मन्त्रालयका अनुसार अक्सफोर्डशायरस्थित एक धावनमार्गको सतह पग्लिएको छ ।बीबीसीका अनुसार विमानहरूले वैकल्पिक एअरफिल्डहरू प्रयोग गरिरहेका छन्। त्यस्तै प्रचण्ड गर्मीका कारण धावनमार्गको एक भाग उचालिए पछि लुटन विमानस्थलमा उडानहरू स्थगित गरिएको छ।
मेडेनहेडस्थित बर्कशायरमा सोमबार एक जना १६ वर्षीय युवकको निधन भएकाे थियाे। दक्षिण पश्चिम लन्डनस्थित ह्याम्पटनमा रहेको टापुमा प्रवेश गरेका १४ वर्षीय एक किशोर बेपत्ता भएका छन्।गर्मीका कारण केही विद्यालयहरू चाँडै बन्द भएका छन्।
पोर्चुगलमा ४५ डिग्री तापक्रम, आधा देश सर्तक
पश्चिमी युरोपमा हाल अत्याधिक गर्मी बढेको छ । जसअन्तर्गत, पोर्चुगल, स्पेन र फ्रान्सका विभिन्न स्थानहरुमा धेरै गर्मीका कारण जनजीवन कष्ठपरक भएको छ ।
पोर्चुगलमा जुलाई १३मा ४५ डिग्री सेल्सियससम्म पुगेको थियो र तीन हजार हेक्टर क्षेत्र जलेर खरानी भएको थियो । सोहि कारण आधा देश रेड अलर्टमा रहेको छ । पोर्चुगलका १४ स्थानहरुमा तापक्रम बढ्दा आगलागी भएको छ । यसैगरी, स्पेनको मेड्रिड शहरमा एक हजार ५०० हेक्टर क्षेत्र जलेर नष्ट भएको छ । इटलीमा रेकर्ड गर्मीका कारण मार्मोलाडा ग्लेशियरको एक भाग भत्किएको छ जसकारण हिमपहिरोमा परेर ११ पर्वतारोहिको मृत्यु भयो ।
यसैबीच उत्तरी अफ्रिकाको ट्युनिसियामा गर्मी ४० वर्ष यताकै उच्च रहेको छ । आगलागीका कारण यहाँ धेरै बाली नष्ट भएको छ । सो स्थानमा ४८ डिग्री सेल्सियस तापक्रमसम्म पुगेको छ ।
इरानमा जुलाईको महिनामा गर्मी अधिक भएको छ । इरानमा जूनमा ५२ डिग्री सेल्सियससम्म तापक्रम पुग्यो ।
चीनले पनि चरम गर्मी सामना गरिरहेको छ । जसकारण सडक पग्लिनुका साथै छतहरुको टाइल पनि खसेका छन् । २०२२ जुलाई १३मा सांघाईको तापक्रम ४०.९ डिग्री सेल्सियस पुगेको थियो जुन १८७३ पछिकै उच्च हो ।
गर्मीले स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने
स्टिभन पावसनले अत्याधिक गर्मीले मानव स्वास्थ्यमा प्रत्यक्ष असर गरेको बताएका छन् । यसका अन्य परिणामहरु प्नि भयान छन् । युरोप र अफ्रिका अहिले आगलागीसँग लडिरहेका छन् । सोहि संघर्ष उत्तरी अमेरिकामा पनि बढेको छ ।