नेशलन माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेड (NMFBS) ले आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको वित्तिय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले यस त्रैमास सम्ममा रु.४०.१५ करोड खुद नाफा आर्जन गरेको छ। खुद नाफा अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा २७.१२% ले बढि रहेको छ। खुद नाफा बढे पनि शेयर संख्या बढेकाले कम्पनीको प्रति शेयर आम्दानी भने रु. ७५.३७ बाट घटेर रु. ६८.४४ कायम हुन आएको छ।
व्याज आम्दानीमा उलेख्य ६३.३७% को वृद्धि, खुद व्याज आम्दानीमा २७.६३% को वृद्धि, कुल संचालन आयमा २८.२५% को वृद्धि तथा संचालन नाफा २७.५३% ले बढेकाले कम्पनीको खुद नाफामा वृद्धि आएको हो। हाल कम्पनीको खुद नाफा मर्जिन २५.५८% कायम रहेको छ जुन लघुवित्त कम्पनीहरु मध्ये को अब्बल (above industry average) रहेको छ।
रु.५८.६६ करोड चुक्ता पूंजी रहेको लघुवित्तको जगेडा तथा कोष ४५.२९% ले वृद्धि भएर रु. ७४.९४ करोड पुगेको छ। हाल जगेडा तथा कोष र चुक्ता पूंजीको अनुपात १२७.७५% रहेको छ। यस्तै, लघुवित्तको कुल शेयरधनीकोष पनि वृद्धि भएर रु. १.३३ अर्ब कायम भएको छ भने प्रति शेयर किताबी मुल्य रु. २२७.७५ कायम हुन आएको छ।
त्यस्तै, राष्ट्रिय स्तरमा कारोबार गर्ने लघुवित्तले व्यवसाय तर्फ राम्रो वृद्धि गरेको छ। लघुवित्तले चौथो त्रैमासमा ग्राहक सदस्यहरु बाट रु. ३.१२ अर्ब निक्षेप र विभिन्न बैंक वित्तिय संस्थाहरु बाट रु. ६.३६ अर्ब कर्जा सापट गरी कुल रु. ९.४८ अर्ब पूंजी परिचालन गरी रु. १०.७२ अर्ब कर्जा प्रवाह गरेको छ। पूंजी परिचालन र कर्जा प्रवाह अघिल्लो वर्षको सोही अवधिको तुलनामा क्रमश ६.१४% र १५.८६% को वृद्धि रहेको छ।
लघुवित्तको पूंजी परिचालनको ३३% हिस्सा निक्षेप संकलनबाट रहेको छ। अन्य बैंक वित्तिय संस्थाहरुबाट कर्जा सापत लिने लघुवित्तको पूंजी संकलनमा निक्षेपको अंश धेरै हुँदा व्याज खर्चमा सन्तुलन आई नाफामा सकारात्मक असर पर्ने गर्दछ।