काठमाण्डौ । सेयर बजारको बुधबार बाउन्स ब्याक भएको छ।
बजार आज ४७.४४ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक १९८१.४८ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सेन्सेटिभ इन्डेक्स ९.१९ अंकले बढेर ३८५.३६ को विन्दुमा पुगेको छ। कारोबार रकम डेढ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।
नेपाल इन्भेस्टर्स फोरमकी महासचिव दुर्गा तिवारी बजार आज प्राविधिक रुपमा सपोर्ट लाइनबाट बढेको देखिएको बताउँछिन्। ‘प्राविधिक हेर्नेहरुले पनि न्यून विन्दुमा आएका कारण बजार पसेका हुन सक्छन्’, उनले भने।
आधारभूत रुपमा बैंकको असोजमा पनि ब्याजदर स्थिर रहन सक्ने र लाभांश हेरेर लगानीकर्ताहरुले दीर्घकालका लागि खरिद गरेको हुन सक्नेजस्ता कारणले बजार बढेको तिवारीको तर्क छ।
बजार जानकार गोविन्दप्रसाद घिमिरे बजार धेरै घटेका कारण बाउन्स ब्याक भएको बताउँछन्। ‘अब नकारात्मक समाचार केही छैनन्’, उनले भने, ‘अर्थतन्त्र सुधारोन्मुख भइरहेकोजस्ता समाचार आइरहेका छन्।’
अबको बजारको दिशा ब्याजदरले नै निर्धारण गर्ने घिमिरेको भनाइ छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ।
यो दिन वित्त समूह सर्वाधिक ५.९३ प्रतिशतले उकालो लागेको छ। व्यापार समूह ५.७५ प्रतिशतले बढ्दा बैंकिङ समूहमा १.८६ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.५६ प्रतिशत, विकास बैंक समूहमा ४.६२ प्रतिशत, जलविद्युत समूहमा ३.६२ प्रतिशत, निर्जीवन बीमा समूहमा १.४९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.२७ प्रतिशत, अन्य समूहमा २.९ प्रतिशत, लघुवित्त समूहमा २.४३ प्रतिशत, जीवन बीमा समूहमा १.४५ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.२४ प्रतिशत र लगानी समूहमा २.५५ प्रतिशतको बढोत्तरी भएको छ।