नेपाल धितोपत्र बोर्डले आज असोज ०२ गते एक सुचना जारी गर्दै धितोपत्र बजार सञ्चालनका लागि सङ्गठित संस्था स्थापना गर्ने सिफारिसका लागि निवेदन दिने सम्बन्धी सुचना जारी गरेको छ।
बोर्डले निजी लगानीमा धितोपत्र बजारलाई थप प्रतिस्पर्धी, प्रभावकारी, लगानीकर्ता मैत्री एवं अन्तर्राष्ट्रियस्तरको प्रविधि सहितको क्षमतायुक्त बनाई धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हित संरक्षण गर्नका निम्ति तथा अर्थतन्त्रमा रहेका स्थापित वास्तविक क्षेत्रका सङ्गठित संस्थालाई धितोपत्र बजारमा भित्र्याई र्राष्ट्रिय पूँजी निर्माण र परिचालनलाई सहजिकरण गर्नका लागि थप एक धितोपत्र बजार सञ्चालन गर्ने उद्देश्यले प्रचलित कानुन बमोजिम सिमित दायित्वको सङ्गठित संस्था स्थापना गर्न आवेदन माग गरेको हो।
नयाँ धितोपत्र बजार सञ्चालन गर्न इच्छुक सङ्गठित संस्थाले धितोपत्र सम्बन्धी ऐन, २०६३, धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ (संशोधन सहित) र धितोपत्र बजार सञ्चालनका लागि बोर्डबाट सिफारिस प्रदान गर्ने सम्बन्धी निर्देशिका, २०७९ बमोजिमका सर्तहरुको अधिनमा रहि निवेदन पेश गर्नुपर्नेछ। योग्यता पुरा भएका इच्छ्क संस्थाले आजको मिति देखी ४५ दिन भित्र (अन्तिम दिनको कार्यालय समय भित्र) निवेदन पेश गर्नुपर्नेछ।
स्मरण रहोस, नयाँ स्टक एक्सचेञ्जले कम्तीमा रु ३ अर्ब चुक्ता पूँजी पुराउनु पर्नेछ। नयाँ खुलेका धितोपत्र बजार (स्टक एक्सचेञ्ज) ले संचालन गरेको दुई बर्ष भित्र आफ्नो जारी पूँजीको कम्तीमा तीस प्रतिशत शेयर सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्नुपर्नेछ भने नेपाल बाहेक अन्य मुलुकमा धितोपत्र बजार संचालन गरिरहेको कम्पनी वा संगठित संस्थाले नियम बमोजिम धितोपत्र बजारको स्वामित्व ग्रहण गर्न पाउने छन्।
त्यसैगरी, धितोपत्र सम्बन्धी ऐन, २०६३ र सो अन्तर्गत बनेका नियम तथा प्रचलित कानुन बमोजिम धितोपत्र बजारको बिकास तथा विस्तार गर्दै यसको सेवा तथा गुणस्तरमा स्वच्छ, निष्पक्ष, पारदर्शी र प्रतिष्पर्धी बनाई धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पहुँच अभिवृद्धि गर्ने हेतुले धितोपत्र बजारमा धितोपत्र दलाल (स्टक ब्रोकर) तथा धितोपत्र व्यापारी (स्टक डिलर) थप गर्न बोर्डले इच्छुक संस्था समक्ष आवेदन माग गरेको छ। आवेदन पेश गर्न चाहने संस्थाले प्रकाशित मितिको ३० दिनभित्र धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावली, २०६४ मा तोकिए बमोजिम निवेदन दिनुपर्नेछ।
संशोधित नियमावली अनुसार सीमित कारोबार गर्ने धितोपत्र दलाल (ब्रोकर) को चुक्ता पुँजी २० करोड, पूर्ण कार्य गर्ने धितोपत्र दलालको चुक्ता पुँजी ६० करोड र धितोपत्र व्यापारीको १ अर्ब ५० करोड रुपैयाँ तोकिएको छ।
त्यसैगरी, वस्तु उत्पादकलाई बजारसम्म पहुँच पुर्याउन, वस्तुको मुल्य आविष्कारमा सधाउन र मुल्य स्थिरता कायम गर्न, लगानीकर्ताहरुलाई लगानीको वैकल्पिक उपकरण प्रदान गर्ने लगायतका उद्देश्यले लगानीकर्ता मैत्री, प्रतिस्पर्धात्मक एवं अन्तर्राष्ट्रियस्थरको प्रविधि र क्षमतायुक्त वस्तु विनियम बजार सञ्चालन गर्ने उदेश्यले धितोपत्र बोर्डले वस्तु विनियम बजार सम्बन्धी ऐन, २०७४ तथा प्रचलित कानुन बमोजिम वस्तु बजार संचालन गर्न निवेदन माग गरेको छ। योग्यता पुगेका इच्छुक संस्थाले आजको मिति देखी ४५ दिन भित्र (अन्तिम दिनको कार्यालय समय भित्र) निवेदन पेश गर्नुपर्नेछ।