सिक्लेस हाइड्रोपावर लिमिटेडको सर्वसाधारणका लागि जारी गरिएको प्राथमिक निष्काशन शेयर (आईपीओ) को बाँडफाँड आज असोज ११ गते मंगलबार बिहान ९:०० बजे बिक्री प्रबन्धक बि.ओ.के. क्यापिटल मार्केट लिमिटेडको नक्साल, काठमाडौं स्ठित कार्यालयमा सम्पन्न भएको छ।
मागभन्दा बढी आवेदन परेको हुनाले कम्पनीको प्राथमिक निष्काशनको बाँडफाँड गोलाप्रथाबाट गरिएको छ। कुल १५ लाख १३ हजार ७८८ जना आवेदन मध्ये योग्य आवेदक १५ लाख १२ हजार ५३७ जनाले आवेदन दिएकोमा १४ लाख ६ हजार ७३७ जना आवेदकको हात खाली भएको छ।
बाँकी आवेदकमा १ लाख ५ हजार ८०० जनाले १० कित्ताको दरले शेयर पाएका छन्। हाइड्रोपावरले आईपीओमा कुल १० लाख ५८ हजार कित्ता साधारण शेयर जारी गरेकोमा १ करोड ६३ लाख ६८ हजार ३०० कित्ताको लागि कुल रु १ अर्ब ६३ करोड ६८ लाख ३० हजार बराबरको आवेदन परेको थियो।
आवेदकले आइपिओ रिजल्ट कम्पनी तथा बिक्री प्रबन्धकको वेभसाइट र सिडिएससीको आइपिओ रिजल्ट हेर्ने वेभसाइटबाट हेर्न सक्नुहुन्छ।
हाइड्रोपावरले रु १०० अंकित दरको ११ लाख ५० हजार कित्ता साधारण शेयर मध्ये ५% अर्थात ५७ हजार ५०० कित्ता साधारण शेयर सामुहिक लगानी कोष र ३% अर्थात ३४ हजार ५०० कित्ता साधारण शेयर कम्पनीका कर्मचारीका लागि छुट्टाएको र बाँकी १० लाख ५८ हजार कित्ता साधारण शेयर सर्वसाधारणहरुको लागि निष्काशन गरेको थियो।