मर्जरमा गएका कम्पनीको दोस्रो बजारमा हुने शेयर कारोबार रोकिने प्रक्रियाको अन्त्य भएको छ। बिहीबार नेपाल धितोपत्र बोर्डले “धितोपत्र दर्ता गराएका सङ्गठित संस्था एक आसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९” लागु गरेसँगै कारोबार रोकिने प्रक्रियाको अन्त्य भएको हो।
अब रोकिएका कम्पनीको कारोबार क्रमशः खुल्दै जाने छन्। निर्देशिकामा भएको व्यवस्था अनुसार कम्पनीहरूले कारोबार खुलाउन निवेदन दिएसँगै सिडिएससी र नेप्सेले कारोबार खुल्ला गर्ने छन्। “यो निर्देशिका प्रारम्भ हुनु अघि गाभ्ने गाभिने वा प्राप्ति प्रक्रियामा रहेका कारण शेयर कारोबार रोक्का रहेका सङ्गठित संस्थाको आधारभूत शेयरधनी बाहेक अन्य शेयरधनीको शेयर कारोबार फुकुवा गर्नु पर्ने छ “निर्देशिकामा भनिएको छ। जसकोलागि कम्पनीहरूले आधारभूत शेयरधनीको विवरण सहित नेप्से र सिडिएससीमा निवेदन दिनुपर्ने निर्देशिकाले भनेको छ।
यसैगरी कुनै पनि कम्पनी मर्जर वा प्राप्तिमा जान लागेको भए उनीहरूको आधारभूत शेयरधनीको कारोबार रोक्का गर्नु पर्ने व्यवस्था समेत निर्देशिकामा छ। यसअघि कै व्यवस्था अनुसार कम्पनीहरूले मर्जर तथा प्राप्ति सम्बन्धी सम्झौता गरेको दिन वा भोलिपल्ट नै आधारभूत शेयरधनीको कारोबार रोक्का गर्न नेप्सेमा निवेदन गर्नु पर्ने छ। साधारणसभा नभए सम्मकोलागि कारोबार रोक्का गर्नु पर्ने छ। एकीकृत कारोबार गरेपछि भने शेयर मिलानकोलागि कम्पनीहरूले सबै शेयरधनीको कारोबार रोक्का गर्न सक्छन्। एकीकृत कारोबार पछि शेयर मिलानकोलागि बढीमा १५ दिनसम्म शेयर कारोबार रोक्न सक्ने निर्देशिकामा भनिएको छ।