काठमाडौं : युनाइटेड मोदी हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्ममा हाइड्रोपावरले १ करोड ७३ लाख ५५ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको यसैअवधिमा कम्पनी १ करोड ४४ लाख ५४ हजार रुपैयाँ नोक्सानमा रहेको थियो । असोज मसान्तसम्ममा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी पनि १२६.१४% ले बढेर ८ करोड ९८ लाख ७४ हजार रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा यसले विद्युत् बिक्रीबाट ३ करोड ९७ लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको अन्य आम्दानी २२ लाख १६ हजार रुपैयाँ पुगेको छ । विद्युत् बिक्रीबाट हुने आम्दानी बढेकाले यसको नाफा पनि बढ्न पुगेको हो । युनाइटेडको चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँ रहको छ । जगेडा कोषमा १० करोड ८९ लाख ५३ हजार रुपैयाँ जम्मा भएको छ । यसको प्रतिसेयर आम्दानी १ रुपैयाँ ५१ पैसा रहेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ४७ पैसा छ ।