दाई नाता पर्नेसँग प्रेम, विवाह गर्न नमान्दा आत्महत्या !
काठमाडौँ । गत असार २० गते चितवनको राप्ती नगरपालिका–३ स्थित सामूदायीक वनमा मृत फेला परेकी सुजिता भण्डारीको विषयमा चितवन प्रहरीले नयाँ तथ्य सार्वजनिक गरेको छ ।
असार ११ गतदेखि घरबाट हराइरहेकी सुजिताले आत्महत्या गरेको प्रहरीले पुष्टि गरेको छ । सुजितालाई आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै नातामा उनकै दाजु पर्ने २३ वर्षीय सचिन भनिने सुकदेव भण्डारीलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
उनीहरुबीचको अनैतिक प्रेम सम्बन्धका कारण नै सुजिताले आत्महत्या गरेको प्रहरीले पुष्टि गरेको छ । चितवन प्रहरीका अनुसार सुकदेवलाई बिहीबार काठमाडौँबाट पक्राउ गरिएको हो ।
दाजुबहिनी पर्ने दुईजनाबीचको प्रेम सम्बन्ध र विकसित घटनाक्रमका कारण सुजिताले आत्महत्याको निर्णय गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
घटनास्थलमा फेला परेको त्यो मोबाइल फोन
जंगलमा सुजिता भण्डारीको मृत शरीर भेटिएपछि चितवन प्रहरीले एक सय भन्दा बढी व्यक्तिहरुसँग सोधपुछ गरेको थियो । सोधपुछका क्रममा सुजिता र सुकदेवबीचको सम्बन्ध दाजु बहिनीमा मात्र सिमित नरहेको जानकारी प्रहरीले प्राप्त गरेको थियो ।
उक्त सूचना सुजिताकै पारिवारिक स्रोतबाट प्राप्त भएको प्रहरीको दाबी छ । सुजिता र सुकदेवबीचको सम्बन्धलाई केन्द्रमा राखेर अनुसन्धान थालेको प्रहरीले नयाँ नयाँ तथ्यहरु फेला पार्दै गएको बुझिन्छ ।
घटनास्थलबाट भेटिएको सुजिताको मोबाइलबाट पनि उनीहरुको सम्बन्धका बारेमा प्रहरीले प्राप्त गरेको सूचनालाई पुष्टि गर्ने विभिन्न आधारहरु फेला परेको जिल्ला प्रहरी कार्यालय चिवनका डिएसी इन्द्रबहादुर रानाले जानकारी दिए ।
डिएसपी रानाका अनुसार सुजिताले प्रयोग गर्ने मोबाइल र त्यसमा रहेको ८ जिबीको मेमोरी कार्ड अनुसन्धानका लागि नक्सालस्थित डिजिटल फरेन्सिक ल्याब पठाइएको थियो ।त्यसबाट डिलिट गरिएका तस्वीरहरू समेत पाइएको प्रहरीले जनाएको छ ।
विदेश जानेदेखि अपहरणको नाटकसम्मको योजना
सुजिताले प्रयोग गर्ने मोबाइलबाट सुकदेवसँगको प्रेम सम्बन्ध बारेमा प्रहरीले थुप्रै तथ्यहरु फेला पारेको हो । नैतिक र सामाजिक कठिनाईका कारण उनीहरुबीच काठमाडौँ गई सँगै बस्ने र विवाह गरी विदेश जानेसम्मको योजना भएको प्रहरीले जनाएको छ ।
त्यो सम्भव नभए दुबै जनाले एकअर्का अपहरणमा परेको नाटक गर्ने र कसैले नभेट्ने ठाउँमा गएर बस्ने सहमति समेत भएको अनुसन्धानबाट खुलेको छ ।
सोही शिलशिलामा सुजिता केही समय काठमाडौँ गएर समेत बसको पाइएको छ । प्रहरीका उनी त्यहाँ दिदीको घरमा बसेको र सुकदेवले उनलाई कोठा सर्न दबाव दिएका थिए ।
९ असारमा सुजिताले बिहेको प्रस्ताव गर्दा विवाद भएको थियो। उक्त क्रममा ‘बिहे नगरे म मर्छु’ भनी सुकदेवलाई धम्क्याएको र सुकदेवले ‘जेसुकै गर’ भनेको पनि अनुसन्धानका क्रममा खुलेको छ ।
त्यसलगत्तै सुजिता असार ११ गते बिहानै घरबाट निस्केकी थिइन । मध्याह्न उनको दिदी कवितासँग फोन सम्पर्क भएको थियो । फोनमा बहिनीले आफू अपहरणमा परेको जानकारी दिएको दिदी कविताले बताएकी थिइन् ।
सुजितालाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै आमा अम्बिका भण्डारीले साउन ६ गते जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरेकी थिइन् । सुकदेवविरुद्ध ज्यान सम्बन्धि कसुरअन्तर्गत ५ वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने प्रहरीले जनाएको छ ।