काठमाडौँ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्दको प्रभाव काठमाडौँमै देखिएको छ ।
उपत्यकाका भित्रि रुटमा चल्ने सार्वजनिक सवारी मंगलबार बिहान भने बन्द भएका छन् । सवारी साधनमाथि तोडफोड हुने त्रासका कारण विभिन्न समितिहरुले सार्वजनिक सवारी साधन बिहानको समयमा बन्द गरेका हुन् । सार्वजनिक गाडीहरू कममात्र चल्दा काम विशेषले आज बिहानै गन्तव्यमा जान चाहनेहरुले सास्ती पाएका छन् ।
काठमाडौं उपत्यकाबाट बाहिरिने गाडीहरू पनि निकै कम छन् । काठमाडौं उपत्यकाभित्र निजी कार र मोटरसाइकलहरू भने चलिरहेका छन् । तर ती पनि अघिल्ला दिनको तुलनामा कमैमात्र चलेका छन् ।
त्यस्तै बिहानी समयमा सञ्चालन हुने अधिकांश कलेजहरु पनि बन्द भएका छन् । यसबारेमा विद्यालयले मंगलबार नै विद्यार्थीहरुलाइ जानकारी गराएकाे थियाे ।
अप्रीय घटना हुन नदिनका लागि सडकमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । बिहानको समयमा यातायात बन्द भएपनि दिउँसो भने चल्ने बताइएको छ । प्रहरीले पनि बन्दलाई निष्प्रभावी पार्नका लागि आवश्यकता अनुसार सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिएको छ ।