काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री भएपछि जनताले डर-त्रासबाट मुक्ति पाएको दाबी गरेका छन्।
“जुन दिन मेरो सरकार बन्यो। त्योभन्दा अघिका दिन हेर्नुस्। डर त्रास कस्तो थियो,’’ कांग्रेसको १४ औं महाधिवेशनलाई सम्बोधन गर्दै देउवाले भने, ‘‘म प्रधानमन्त्री भएको भोलिपल्टै सबैले मुक्ति पाएजस्तो भयो। सबैले ओलीको शासनबाट मुक्ति पाए। त्यस्तो अवस्थाबाट अब हाम्रो अगाडि तयो मुक्तिलाई बचाउने कि नबचाउने हो? त्यो यो महाधिवेशनले तय गर्छ।’’
देउवाले थपे, ‘‘फेरि पनि कुनै किसिमको तानाशाही सरकार नआओस् भन्नका लागि यो महाधिवेशनले निर्णय गर्नुपर्छ। यसपछि गाउँदेखि केन्द्रसम्म आउँदो सरकार कांग्रेसको हुन्छ। त्यो मेरो जिम्मा भयो।’’
उनले सभापतिमा आफू विजयी भए स्थानीय तहदेखि केन्द्रसम्म कांग्रेसको सरकार बन्ने दाबी पनि गरे।