काठमाडौं : सेयर बजारमा बुधबार पनि करेक्सन जारी रहेको छ । ट्रेडरहरुले नाफा बुक गर्नेक्रम जारी रहँदा बजारमा करेक्सन आएको हो । यस दिन नेप्से सूचक २२.०६ अंकले घटेर २८१३.५३ विन्दुमा अडिएको छ । ३ अर्ब ४७ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । तुलनात्मकरुपमा यो कारोबार रकम कम हो । क्रेता र बिक्रेता दुवैथरी लगानीकर्ता ‘पर्ख र हेर’ को अवस्थामा बस्दा कारोबार रकममा ह्रास आएको हो । वित्तीय प्रणालीमा तरलता प्रेसरले पनि यसमा केही भूमिका खेलेको छ ।
यस्तै, घटेको मूल्यमा आत्तिएर सेयर बिक्रीहरु खासै नभएकाले पनि कारोबार रकम घटेको ब्रोकरहरुको भनाई रहेको छ । नेप्से घटेका बेला खरिदबिक्री रकम कम हुनु राम्रो भएको कतिपय लगानीकर्ताहरुको भनाई रहने गरेको छ । चुनाव घोषणा गरेपछि बजार माथि लाग्ने आम अपेक्षा विपरीत २ दिनदेखि तल झरिरहेको छ । २८ सय माथि पुगेको नेप्सेमा प्रोफिट बुक गर्नेक्रममा सुरु भएपछि बजार केही प्रभावित भएको हो ।
केही करेक्सनहरुका बाबजुत बजारले फेरि अग्रगति समाउने लगानीकर्ताहरुको विश्वास रहेको छ । अब विस्तारै चुनावी माहोल सृुरु हुँदैछ । चुनावका बेलामा आर्थिक चहलपहल वृद्धि हुन्छ । राजनीतिक दलहरु र सरकारले समेत यसबेला पर्याप्तमात्रामा खर्च गर्छन् । यसको प्रभाव सेयर बजारमा देखिने धेरैको अपेक्षा रहेको छ । तथापि, निर्वाचन घोषणा हुने बित्तिकै भने बजारले सकारात्मक प्रतिक्रिया दिएको छैन ।
अहिले लगानीकर्ता ‘पर्ख र हेर’ को अवस्थामा रहेका छन् । जसका कारण खरिदबिक्री रकम पनि सुस्त भएको छ । बजारले नियमित करेक्सन चक्र पूरा गरेपछि फेरि गति समाउने विश्वासमा लगानीकर्ताहरु रहेका छन् । बजार घट्दा होस् वा बढ्दा, लगानीकर्ताले कम्पनीहरुले सार्वजनिक गरेका वित्तीय विवरणहरु, सम्बद्ध कम्पनीको व्यवस्थापन र सञ्चालकहरुका बारेमा पनि अध्ययन गर्नुपर्छ । यस्तै, सम्बद्ध क्षेत्रमा व्यवसायको अवसर र प्रतिस्पर्धा, कम्पनीहरुको चुक्ता पुँजी कति छ ?
नियमनको अवस्था कस्तो छ ? भन्ने विषयतर्फ पनि अध्ययन गर्न अनुभवीहरुले सुझाव दिने गरेका छन् । लगानीकर्ताले कुन उद्देश्यले सेयर किन्ने हो ? आफू इन्भेष्टर र कि ट्रेडर भन्नेसमेत ध्यान दिंदै सोही अनुसार रणनीतिहरु तय गर्नुपर्ने हुन्छ । सबल वित्तीय सूचक भएका कम्पनीहरुमा सकेसम्म दीर्घकालीन हिसाबले लगानी गर्न सके लाभ लिन सकिने अनुभवीहरु बताउँछन् । यसैगरी, लगानी गरिने क्षेत्र तथा समूहहरुको तुलनात्मक अध्ययन, इन्डस्ट्री ग्रोथ रेट लगायतका सूचकहरुमा पनि लगानीकर्ताले अध्ययन गर्नुपर्ने हुन्छ । ब्लुचीप कम्पनी छान्ने कि ग्रोथ ओरियन्टेड कम्पनी छनोट गर्ने भन्नेमा पनि योजना बनाउन विश्लेषकहरुले सुझाव दिने गरेका छन् ।
यसैगरी, उक्त कम्पनीको करिब ५ वा त्यो सम्भव नभए ३ वर्षको वित्तीय विवरण, नाफा, रिजर्भ, खुद ब्याज आम्दानी, वितरणयोग्य नाफा, इपीएस, पीइ रेसियो, नेटवर्थ लगायतका महत्वपूर्ण सूचकहरु पनि ख्याल गर्न सके लगानीसम्बन्धी निर्णय लिन सजिलो हुनेछ । यस दिन सबै समूहका सूचक घटेका छन् । १८ करोड ६१ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा अरुण भ्याली हाइड्रोपावर अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रोमा नेपाल टेलिकम र तेस्रोमा नेसनल हाइड्रोपावर परेका छन् । २२३ कम्पनीको ६५ लाख २० हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।