काठमाडौं : पुस महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.६५% रहेको छ । अघिल्लो महिना अर्थात मंसिर महिनामा ७.११% रहेको मुद्रास्फीति पुसमा भने केही कम भएको हो । यद्दपि, अघिल्लो वर्षको यसै महिनामा यस्तो मुद्रास्फीति ३.५६% मात्र रहेको थियो । पुस महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९२% र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.२३% रहेको छ । २०७७ पुसको तुलनामा २०७८ पुसमा घ्यू तथा तेल, यातायात, मदिराजन्य पेय पदार्थ, सुर्तीजन्य वस्तु र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः २१.२२%, १४.०७%, ११.३७%, १०.४८% र ९.२२% रहेको छ । यता, पुसमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ८.०८% रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.१८% रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ९.१०%, ७.६७% र ७.१४% रहेको छ । पुस महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि १७.५१% रहेको छ ।