काठमाडौंं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेर निर्णय लिन आग्रह गरेका छन्। अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारेको अलमलमा रहेको सत्तागठबन्धनका नेता प्रचण्डले बिहीबार साँझ ओलीलाई फोन गर्दै एमसीसी अब वार कि पारको चरणमा प्रवेश गरेको भन्दै एमालेले निर्णय गर्नुपर्ने बताएका हुन्।
जवाफमा ओलीले पुरानै जवाफ फर्काएका एमाले प्रचार विभागका विष्णु रिजालले जानकारी दिए। एमसीसीलाई लिएर सत्ता गठबन्धनभित्रै चर्को मतभेद रहेका बेला अमेरिकाले समेत थप पर्खिन नसक्ने बताएपछि दबाबमा रहेका प्रचण्डलाई ओलीले पहिला संसदमा प्रस्तुत भएपछि निर्णय लिने जानकारी गराएका रिजालले बताए। साथै ओलीले यसबारे पहिला सत्ता गठबन्धनलाई निर्णय गर्न समेत भनेका छन्।
रिजालले ट्विट गर्दै भनेका छन्, ‘‘एमसीसीमा तपाईँले निर्णय नगरी भएन’ भन्दै हिजो सा‘झ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फोन गर्दा हाम्रो पार्टीका अध्यक्ष केपी ओलीले स्पष्ट शब्दमा भन्नुभएको छ– तपाईँहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौँ भनेर बचन दिनुभएको छ, हटाइसकेपछि ‘४–५ महिनामा पारित गर्छौँ’ भनेर लिखित कागज नै गर्नुभएको रहेछ। अहिले सत्ता चलाइरहनुभएको छ, प्रतिनिधिसभामा १ सय ६५ सदस्य छन्। पहिले आफूले निर्णय गर्नुस्, नेकपा (एमाले) त निर्णय गरिहाल्छ ।’’