जनकपुरधाम। लामो समय देखि बलात्कार आरोपमा फरार रहेको एक युवक प्रहरीको घेराबाट हतकडीसहित फरार भएको छ। हतकडी लगाएको अवस्थामा आरोपी फरार भएपछि पीडित पक्षले प्रहरीले मिलोमतोमा भगाएको आरोप लगाएका छन्।
महोत्तरीको भंगहा नगरपालिका- ७ मेघरौलबाट शुक्रबार पक्राउ परेका औरही नगरपालिका-९ का २६ वर्षीय जितु मण्डल फरार भएका हुन्। लामो समयदेखि फरार रहँदै आएको मण्डल मामाघर आएको जानकारी पाएपछि स्थानीय खबर गर्दा गर्दा प्रहरीले पक्राउ गरेको थियो।
१० साउत २०७७ को राति स्थानीय एक बोल्ने नसक्ने रामगोपालपुरकी एक महिलालाई स्थानीय खुर्के मुखियाको सहयोगमा मण्डलले बलात्कार गरेका आरोप लागेको थियो। घटनापछि पीडित महिलाका पक्षले उनीहरूविरुद्ध साउन ११ गते इलाका प्रहरी कार्यालय रामगोपालपुरमा किटानी जाहेरी दिएका थिए। सो जाहेरीपछि उनीहरू लामो समयदेखि फरार रहँदै आएका थिए।
प्रहरीले तत्कालै घटनास्थलबाट यथेष्ठ प्रमाणहरू समेत बरामद गरेको थियो। करणी भएको ठाउँबाट मण्डल र मुखियाले लगाएको ज्याकेट, मोबाइलसमेत बरामद गरेका थिए। तर उनीहरूलाई प्रहरीले पक्राउ गर्न सकेको थिएन। तर शुक्रबार मण्डल मामाघर आएका बेला प्रहरीले पक्राउ गरे पनि उनी फेरि फरार भएका हुन्। लामो समयपछि आरोपी पक्राउ पर्दा पीडित परिवारले भने न्यायको आश गरेका थिए।
यस सम्बन्धमा रामगोपालपुर नगरपालिकाका एक जनप्रतिनिधि (वडा अध्यक्ष) जितेन्द्र चौधरीका अनुसार मण्डल आफै फरार भए कि उनलाई भगाइएको हो भन्ने विषय बुझ्न गाह्रो छ। उनले भने, “प्रहरीले मण्डल हतकडीसहित भागेका छन्। तर हतकडी लगाइएको व्यक्ति सजिलै कसरी भाग्यो ? भन्नेमा विभिन्न आशंकाहरू उत्पन्न भइरहेका छन्।”
प्रहरीले हतकडीसहित भागेको दाबी गरे पनि हतकडी भने प्रहरी कार्यालयमै रहेको स्थानीयको दाबी छ।
घटनालाई ठूलो बनाएर मिडियाबाजी नगर्न भन्दै प्रहरीले धम्कीका साथै प्रलोभनसमेत पार्न खोजेको अडियोसमेत प्राप्त भएको छ। घटनाबारे प्रहरीमाथि नै अनुसन्धान गर्न पीडित पक्ष र स्थानीयको माग छ।
बोल्न नसक्ने महिला शौच गर्न गएको बेला उखुबारीमा लगेर जबर्जस्तीकरणी गरेको विभिन्न प्रमाण भए पनि पीडक पक्षले उजुरी गरेपछि धम्की दिँदै प्रहरीले महिलालाई कुटपिटसमेत गरेको पीडित महिलाका श्रीमानले बताए।
प्रहरी के भन्छ ?
प्रहरीले भने जाहेरीपछि सूक्ष्म रूपमा अनुसन्धान भइरहेको दाबी गरेको छ। अपराधीलाई सजाय दिलाउन प्रहरीले हदैसम्मको प्रयास गरिरहेको एसपी दिनेश आचार्यले बताए। अभियुक्तलाई भगाइएको वा भागेको विषयमा छानबिन भइरहेको एसपी आचार्यले बताए।
अभियुक्त प्रहरीबाट भगाइएको र पीडित पक्षमाथि हातपात गरेको आरोपमा मण्डलकी आमालाई प्रहरीले पक्राउ गरी छानबिन गरिरहेको एसपी आचार्यले बताए। अपराधीलाई सजाय दिलाउन प्रहरीले हदैसम्मको प्रयास गरिरहेको एसपी आचार्यले प्रतिबद्धता जनाएका छन्।