ग्रीन भेन्चर्स लिमिटेडको आइपिओ बाँडफाँड आज चैत्र २० गते नयाँ बनेश्वोर, काठमाडौं स्थित आइपिओ निष्काशन तथा बिक्री प्रवन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको केन्द्रिय कार्यालयमा सम्पन्न भएको छ।
मागभन्दा बढी आवेदन परेको हुनाले कम्पनीको प्राथमिक निष्काशनको बाँडफाँड गोलाप्रथाबाट गरिएको छ। कुल २१ लाख ११ हजार ६ सय ४९ जना आवेदन मध्ये योग्य आवेदक २१ लाख ६ हजार ५ सय १६ जनाले आवेदन दिएकोमा १८ लाख १९ हजार १६ जना आवेदकको हात खाली हुने भएको छ।
बाँकी आवेदकमा २ लाख ८७ हजार ५ सय जनाले १० कित्ताको दरले शेयर पाउने भएका छन्। ग्रीन भेन्चर्स लिमिटेडको आइपिओमा २ करोड ४३ लाख ५१ हजार ८ सय ८० कित्ताको लागि कुल रु.२.४३ अर्ब बराबरको आवेदन परेको थियो।
आवेदकले आइपिओ रिजल्ट कम्पनी तथा बिक्री प्रबन्धकको वेभसाइट र सिडिएससीको आइपिओ रिजल्ट हेर्ने वेभसाइटबाट हेर्न सक्नुहुन्छ।
कम्पनीले जारी पूंजी रु.३.१२ अर्बको १०% ले हुन आउने रु.३१.२५ करोडको प्रति शेयर रु.१०० अंकित दरका ३१ लाख २५ हजार कित्ता साधारण शेयर मध्ये १ लाख ५६ हजार २ सय ५० कित्ता अर्थात ५% शेयर सामूहिक लगानी कोषको लागि बाँडफाँट गरिएको तथा ९३ हजार ७ सय ५० कित्ता अर्थात ३% शेयर कर्मचारीहरुको लागि सुरक्षित गरी बाँकी रहने २८ लाख ७५ हजार कित्ता साधारण शेयर सार्वजनिक निष्काशनमा ल्याइएको थियो।
हाल कम्पनीले ओखलढुंगा जिल्ला हुँदै बहने लिखु खोलाको श्रोत उपयोग गरी ५२.४ मेगावाट क्षमताको लिखु-४ जलविद्युत आयोजना संचालन गरिरहेको छ।