सिवाईसी नेपाल लघुवित्त वित्तिय लिमिटेडको मिति २०७९ वैशाख २ गते देखि खुल्ला रहेको सार्वजनिक निष्काशन (IPO) मा आवेदन दिने आज बैशाख ०६ गते अन्तिम दिन रहेको छ। लघुवित्तको आईपिओमा आवेदन आज बैंकिङ्ग समय पश्च्यात बन्द हुनेछ। निष्काशनको पहिलो दिनमै सर्वसाधारणको लागि खुल्ला गरिएको शेयरको माग भन्दा धेरै आवेदन परेको थियो।
सिडिएससी बाट प्राप्त जानकारी अनुसार चौथो दिनको साझ ५:०९ बजे सम्ममा १८ लाख ६३ हजार ७ सय ९४ जना आवेदकले २ करोड ११ लाख ५९ हजार ७ सय २० कित्ताको लागि आवेदन दिएका छन्। यो संख्या माग गरिएको आवेदन भन्दा ५७.२७ गुणा बढी हो। यस अनुसार ३६ हजार ९ सय ४० जना आवेदकले १० कित्ताको दरले र ८ जना आवेदकले ११ कित्ताको दरले पाउने भएका छन्।
कम्पनीको जारी पूंजी रु.१२ करोड १६ लाख ४१ हजार ८ सय ३७.०४ को ३२.५०% ले हुन आउने रु.३ करोड ९५ लाख ३३ हजार ६ सयको प्रति शेयर रु.१०० अंकित दरका ३ लाख ९५ हजार ३ सय ३६ कित्ता साधारण शेयर मध्ये १९ हजार ७ सय ६६ कित्ता अर्थात ५% शेयर सामूहिक लगानी कोषको लागि बाँडफाँट गरिएको तथा ६ हजार ८२ कित्ता अर्थात १.५४% शेयर कर्मचारीहरुको लागि सुरक्षित गरी बाँकी रहने ३ लाख ६९ हजार ४ सय ८८ कित्ता साधारण शेयर सार्वजनिक निष्काशनमा आएको हो।
माग भन्दा धेरै आवेदन परेको हुनाले लघुवित्तको शेयरमा १० कित्ता आवेदन दिए पुग्नेछ। कम्पनीको आइपिओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सि-आस्बा सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा मेरो शेयर सफ्टवेयर प्रयोग गरी सि-आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सकिने छ। यस्तै, कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।