चालु आर्थिक वर्ष २०७८/७९ को ९ महिनामा जम्मा ३९ जीवन र निर्जीवन बीमा कम्पनीहरुले कुल रु.१३१.१३ अर्ब बीमाशुल्क संकलन गरेका छन् जसमा २१.८९% हिस्सा निर्जीवन बीमा कम्पनीहरुको रहेको छ।
हाल संचालनमा रहेका २० निर्जीवन बीमा कम्पनीले चालु आर्थिक वर्ष २०७८/७९ चैत्र मसान्त सम्ममा कुल रु.२८.७० अर्ब बीमाशुल्क संकलन गरेका छन्। फागुन मसान्त सम्ममा रु.२५.२९ अर्ब बीमाशुल्क संकलन भएकोमा चैत्र महिनामा मात्र कम्पनीहरुले रु.३.४० अर्ब आर्जन गरेका छन्। मासिक तथ्याङ्क अनुसार माघको तुलनामा फागुनमा २८.६६% ले बढेको कुल बीमा शुल्क फागुनको तुलनामा चैत्र महिनामा भने २.५३% ले घटेको छ।
चैत्र महिनामा संकलन भएको बीमाशुल्क मध्ये अधिकांश हिस्सा मोटर बीमाको रहेको छ। रु.१.०९ अर्ब बीमाशुल्क आर्जन भएको मोटर बीमा शिर्षकले ३१.७१% योगदान गरेको छ। यस्तै, सम्पत्ति बीमाको २०.४०% हवाई बीमाको १७.१३%, इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमाको १०.११% प्रमुख स्वामित्तो रहेको छ। यस्तै, चैत्र मसान्त सम्ममा जारी गरिएको बीमालेखमा धिकांश हिस्सा ६५.५४% अर्थात कुल बीमालेख मध्ये १५ लाख २५ हजार मोटर बीमालेख रहेको छ। त्यसपश्च्यात ३ लाख ६९ हजार (१६.९९%) बीमालेख सम्पत्ति बीमाको रहेको छ भने अन्य बीमा पोलिसीहरुको न्युन योगदान रहेको छ।
कुल २० निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरु मध्ये १८ कम्पनीहरु नेपाल स्टक एक्सचेन्जमा सुचिकृत रहेका छन् भने दि ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेड र नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेड बैदेशिक लगानीमा स्थापना भएका र सुचिकृत नभएका कम्पनीहरु रहेका छन्।
बीमा समितिबाट प्राप्त मासिक तथ्याङ्क अनुसार चालु आ. व. को ९ महिनामा बीमाशुल्क संकलनको आधारमा शिखर इन्स्योरेन्स (SICL) निर्जीवन बीमा कम्पनीहरु मध्ये अब्बल देखिएको छ। रु.१.७५ अर्ब चुक्ता पूंजी रहेको कम्पनीले चैत्र मसान्त सम्ममा १ लाख ८० हजार ७ सय ९९ बीमालेख जारी गरी रु.३.७१ अर्ब बीमाशुल्क आर्जन गरेको छ जुन कुल निर्जीवन बीमा व्यवसाय तर्फको १२.९३% बजार हिस्सा रहेको छ। कम्पनीले अघिल्लो आ. व. २०७७/७८ मा २ लाख ७१ हजार १ सय १६ बीमालेख जारी गरी रु.३.९७ अर्ब बीमाशुल्क संकलन गरेको थियो भने चालु आ. व. को प्रथम त्रैमासमा कुल ६७ हजार ९७ बीमालेख जारी गरी रु.१ अर्ब बीमाशुल्क आर्जन गर्न सफल भएको थियो। दोश्रो त्रैमासमा कम्पनीले १ लाख ३१ हजार बीमालेखबाट रु.२.४३ अर्ब बीमाशुल्क आर्जन गर्न सफल भएको थियो। हाल इन्स्योरेन्सले १०५ शाखा कार्यालयहरुबाट ६१० जना कर्मचारीहरु मार्फत सेवा प्रदान गरिरहेको छ। यस्तै, दोश्रो स्थानमा सगरमाथा इन्स्योरेन्स (SIC) रहेको छ। समिक्षा अवधिमा कम्पनीले १ लाख ९९ हजार ४ सय ४० बीमालेख बाट रु.२.४२ अर्ब बीमाशुल्क आर्जन गरेको छ। प्रथम त्रैमाससम्ममा कम्पनीले ६६ हजार ९ सय ४० बीमालेखबाट रु.७१.०८ करोड बीमाशुल्क आर्जन गरेको थियो भने दोश्रो त्रैमासमा १ लाख ३७ हजार बीमालेख बाट रु.१.७२ अर्ब बीमाशुल्क आर्जन गर्न सफल भएको थियो। सगरमाथा इन्स्योरेन्ससँग ८.४६% बजार हिस्सा रहेको छ।
यस्तै, चुक्ता पूंजीको हिसाबले रु.१.५२ अर्ब सहित दोश्रो स्थानमा रहेको नेको इन्स्योरेन्स (NIL) व्यवसायिक आधारमा तेश्रो स्थानमा कायम रहेको छ। नेको इन्स्योरेन्सले चैत्र मसान्तसम्ममा २ लाख १२ हजार ९ सय २८ बढि बीमालेख जारी गरी रु.२.२३ अर्ब शुल्क आर्जन गरेको छ। यसैगरी शाखा संजालको हिसाबले अगाडि रहेका सिद्धर्थ इन्स्योरेन्स (SIL), एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड (NLG) र प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड (PIC) ले पनि रु.१.५ अर्ब भन्दा धेरै बीमाशुल्क संकलन गर्न सफल भएका छन्। कुल निर्जीवन बीमा व्यवसायको बजार स्वामित्वको आधारमा नेको इन्स्योरेन्स, सिद्धर्थ इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सले क्रमश ७.८०%, ६.७६%, ६.१७% र ५.७२% बजार ओगटेका छन् जुन औशत बजार हिस्सा भन्दा माथि रहेको छ।
यस्तै, चालु आ. व. को समिक्षा अवधिमा न्युन बीमाशुल्क आर्जन गर्ने कम्पनीमा नेशनल इन्स्योरेन्स रहेको छ। भारतको नेशनल इन्स्योरेन्सको १ मात्र बैदेशिक शाखाको रुपमा संचालनमा रहेको कम्पनीले चालु आ. व. को ९ महिनामा १७ हजार २ सय २९ बीमालेख जारी गरी रु.६७.८८ करोड बीमाशुल्क आर्जन गरेको छ। १३ शाखा कार्यालयबाट व्यवसाय संचालन गरिरहेको कम्पनीले गत आर्थिक वर्षमा १७ हजार ५ सय ५८ बीमाशुल्क जारी गरी रु.८७.४६ करोड आर्जन गरेको थियो। यस्तै, ६८ हजार ६ सय ४७ बीमालेख जारी गरेको सानिमा जनरल इन्स्योरेन्स (SGI) पनि व्यवसायिक आधारले निर्जीवन बीमा कम्पनीहरु मध्ये कमजोर देखिएको छ। कम्पनीले चैत्र मसान्त सम्ममा रु.७२.०६ करोड बीमाशुल्क संकलन गरेक छ। यस्तै, जनरल इन्स्योरेन्स कम्पनी (GIC), एभेरेष्ट इन्स्योरेन्स (EIC), प्रुडेन्सियल इन्स्योरन्स (PICL), दि ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेड तुलनात्मक रुपमा तल्लो बिन्दुमा रहेका छन्।
निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीले न्युनतन रु.१ अर्ब चुक्ता पूंजी पुर्याउनु पर्ने प्रावधान रहेकोमा बीमा समितिले मिति २०७८ चैत्र १० गते नयाँ व्यवस्था लागु गर्दै बीमा कम्पनीहरुको न्युनतम चुक्ता पूंजी वृद्धि गरेको छ। नयाँ नियम अनुसार निर्जीवन बीमा कम्पनीहरुले २०७९ चैत्र मसान्त भित्र न्युनतम चुक्ता पूंजी रु. २.५ अर्ब पुर्याउनु पर्ने भएको छ। संचालनमा रहेका कम्पनीहरु मध्ये सबै कम्पनीहरुको पूंजी अपुग रहेको देखिन्छ। बीमा समितिको निर्देशन अनुसार सबै निर्जीवन बीमा कम्पनीहरुले आफ्नो चुक्ता पूंजी वृद्धि गर्न पूंजी योजना (Capital Plan) गरिसकेका छन्।