सेन्चुरी कमर्सियल बैंक लिमिटेड (CCBL) को १० बर्ष अवधि तथा वार्षिक १०.५०% ब्याजदर भएको “सेन्चुरी डिबेन्चर २०८८” आज मिति २०७९ वैशाख २१ गतेबाट निष्काशन खुल्ला भएको छ।
बैंकले प्रति डिबेन्चर रु.१,००० अंकित मूल्यका २२ लाख कित्ताले हुन आउने रु.२ अर्ब २० करोड बराबरको ऋणपत्र मध्ये ६० प्रतिशत अर्थात १३ लाख २० हजार कित्ताको कुल रु.१ अर्ब ३२ करोड ऋणपूंजी बराबरको रकम परिपत्र विधिबाट (Private Placement) बिक्री गरिने तथा ४० प्रतिशत अर्थात ८ लाख ८० हजार कित्ताको कूल रु.८८ करोड ऋणपूंजी बराबरको रकम (जसमध्ये ५ प्रतिशत अर्थात ४४,००० कित्ता सामूहिक लगानी कोषका लागि छुट्टयाइएको) सर्वसाधारण नेपालीको लागि निष्काशन बिक्री खुल्ला गरेको हो।
यस ॠणपत्रमा न्युनतम २५ इकाई देखि अधिकतम ८,७०,००० कित्ताको लागि आवेदन दिन सकिने छ। बैंकले मिति २०७९ वैशाख २५ गतेसम्म ॠणपत्र निष्काशन तथा बिक्री खुल्ला गर्नेछ र सो समयसम्म ॠणपत्र बिक्री पुरा नभए निष्काशन जेष्ठ ४ गते बैंकिङ्ग समयसम्म लम्बिने छ।
ॠणपत्रमा नेपाल धितोपत्र बोर्ड बाट स्वीकृति प्राप्त गरेका सि-आस्बा सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा मेरो शेयर सफ्टवेयर प्रयोग गरी सि-आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सकिने छ।
सेन्चुरी कमर्सियल बैंकको यस ॠणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।